- समाचार

आरन पेसाबाट परिवार पाल्नै धौधौ

मुगु । परम्परागत रूपमा फलामका सामान बनाउँदै आएका दलित समुदायलाई जीविकोपार्जन गर्न समस्या हुने गरेको छ । मुगुको एक नगरपालिका र तीन गाउँपालिकामा बसोबास गर्ने आरन पेसा गर्दै आएका दलित समुदायको बसोबास रहेको छ ।

यहाँका दलित समुदायले पुर्ख्यौली पेसाका रूपमा फलामका कुटो, कोदालो, बन्चरो, हँसियालगायतका सामग्री बनाउँदै आएका छन् । जसबापत उनीहरूले समुदायबाट  जेठ र कात्तिक महिनामा अन्नपात लिने गरेका छन् ।

छायानाथ रारा नगरपालिका– वडा नं ६ का लालभक्त कामीका अनुसार स्थानीयको फलामको काम गरेबापत जेठमा तीस किलो गहुँ र कात्तिकमा त्यही परिमाणको  कोदो पाउने गर्दछन् । तर, त्यसले घरपरिवार पाल्न गाह्रो भएको उहाँको भनाइ छ ।